Pages

Showing posts with label Science. Show all posts
Showing posts with label Science. Show all posts

Sunday, April 6, 2014

What Nepalese scientist are doing in abroad ?

सूचना र संचारको क्षेत्रमा भएको उन्नतिले पृथ्वी चेप्टो अर्थात "फ्ल्याट" हुँदै गएको छ। भूमण्डलीकरणको युगमा ऐतिहासिक, भौगोलिक र सांस्कृतिक दूरी क्रमशः असान्दर्भिक भएको तर्क गर्छन् द ओर्ल्ड इज फ्ल्याटः ए बिफ्र हिस्टी अफ दी ट्वान्टी फस्ट सेन्टुरी का लेखक थोमस फ्राइडम्यान।
फ्राइडम्यानसँग असहमत हुन सकिएला तर सत्य के हो भने अब मानिसलाई भूगोल र राजनीतिका सीमामा बाँध्न सकिँदैन। यसैले आर्थिक सम्भावनाका खोजीमा विकासशील देशबाट अदक्ष श्रमका साथै विज्ञान र प्रविधीको क्षेत्रका दक्ष र विशिष्ट प्रतिभा विकशित देशतिर जानु स्वाभाविकै हो। सन् १९९५ यता नेपालबाट पनि यस क्षेत्रको जनशक्ति विदेश जानेक्रम बढ्दो छ। अर्थात् नेपालबाहिर वैज्ञानिक डायोस्पोराको पनि एउटा पंक्ति तयार हुँदैछ।

नेपालबाट विदेशिएका सबै वैज्ञानिक र विज्ञानका विद्यार्थीको संख्या एकिन नभए पनि नेपालीको पुरानो र लोकप्रिय गन्तव्य अमेरिका आउनेको तथ्यांक उपलब्ध छ। सन् १९९६ देखि २००९ सम्म १३ वर्षमा करिब ६२ हजार नेपाली विद्यार्थी अमेरिका आएको न्युर्योक स्थित गैरसरकारी संस्था ओपनडोर्सका तथ्यांकले देखाएको छ। अमेरिका आउने विद्यार्थीमा विज्ञान र प्राविधिक शिक्षा अध्ययन गर्न आउनेको संख्या धेरै छ। पहिले अमेरिका आउने विद्यार्थी स्नातक तहको अध्ययन गर्न आउँथे। पछिल्ला वर्षमा विज्ञानमा स्नातकोत्तर वा विद्यावारिधि गर्ने आउने नेपालीको संख्या उल्लेख्य छ। सबै तथ्यांक केलाउने हो भने, अहिलेसम्म अमेरिकाबाट विद्यावारिधि गर्ने र गर्दै गरेका नेपालीको संख्या ४ हजार नाघेको छ। यसमध्ये भौतिकशास्त्र, रसायनशास्त्र, जीवशास्त्र, वातावरण विज्ञान, संरक्षण विज्ञान, कृषी, वन र कम्युटर विज्ञानमा विद्यावारिधि गर्ने र गरिरहेका नेपाली विद्यार्थीको संख्या अधिक छ। त्यस्तै अमेरिकाभरमा पाँच हजारभन्दा बढी नेपाली इन्जिनियर भएको अनुमान छ। थुप्रै नेपाली डाक्टर पनि यहाँ कार्यरत छन्। करिब दुई सयको हाराहारीमा नेपाली प्राध्यापक अमेरिकामा प्राध्यापन गर्दैछन्। तीमध्ये पनि अधिकांश बिज्ञान का बिषय भौतिकशास्त्र र रसायनशास्त्र का छन्।

नेपालमा पलायन भएको भनिएको यो जनशक्ति आफ्नो प्रतिभा र परिश्रमद्वारा अमेरिका र युरोपेली मुलुकमा स्थापित भएको छ। ती देशमा समयानुकूल ज्ञान, सीप पनि आर्जन गरिरहेका छन्। नेपालीको उपस्थिति अमेरिकाको हार्डवर्ड-एमआईटीदेखि वेलायतको क्याम्ब्रिज, अक्स्फोर्ड र जमर्नीको म्याक्सप्लाक्नदेखि अमेरिकाको नासा र हलिउडसम्म छ। नेपालीहरू अन्टारटिका महादेशमा वैज्ञानिक अनुसन्धानमा संलग्न छन्। गन्तव्यमा मात्रै होइन विषय र दक्षतामा पनि विविधता देखिन थालेको छ।


देशमा विज्ञान प्रविधि क्षेत्रको विकास योजना बनेर अवसर सिर्जना भएमा यिनीहरू आफ्नै लागि भएपनि नेपाल फर्कनेछन्। उदाहरणको लागि भारतले द्रुत आर्थिक वृद्वि हासिल गर्न थालेपछि सन् २००१ पछिका ५-७ वर्षमा अमेरीकामा अध्ययन गरेका करीब ५० हजार जति कम्प्युटरलगायतका विभिन्न विज्ञानको उच्च शिक्षा लिएका भारतीय स्वदेश फर्केका थिए। उनीहरु देशको मायाले मात्रै फर्किएका भने होइनन्। अमेरीकामा भन्दा भारतमा राम्रो रोजगारी र कमाएको पैसा बचत हुने देखेर पनि फर्किएका हुन्। हालै केमरुनमा त्यहाँका वैज्ञानिक र प्राध्यापकलाई दिइने तलव र अन्य सुविधा बढाउँदा पश्चिमा मुलुकमा बसिरहेका थुप्रै वैज्ञानिक क्यामेरुन फर्किन थालेका छन्। त्यसकारण देशमा विज्ञान तथा प्रविधिको राम्रो विकास भए विदेशिएका नेपाली वैज्ञानिक पनि नेपाल फर्कन सक्छन्। उनीहरू फर्किए भने ज्ञान र सीपका साथै व्यापक बाह्य सर्म्पक पनि लिएर आउनेछन्।

भारत र चीनको द्रुत आर्थिक विकासमा त्यहाँको वैज्ञानिक डायोस्पोराको पनि ठूलो हात छ। भारत र चीनले सरकारी वा गैरसरकारी विभिन्न संस्थागत तहबाट ती तिनलाई सम्मान गरेको छ र सहयोग आदानप्रदान गरिरहेको छ। अमेरीकी विश्व विद्यालयमा मात्रै आठ हजारको हाराहारीमा भारतीय र १२ हजार जति चिनिया मूलका प्राध्यापक भएको अनुमान गरिन्छ। हजारौको संख्यामा अनुसन्धानकर्ता, इन्जिनियर, डाक्टर देशबाहिर कार्यरत छन्। विश्वमा जहाँ बसेपनि आफ्नो देशको अनुसन्धान र वैज्ञानिक जनशक्तिको विकासमा योगदान गरेका छन्। तिनले विभिन्न तहमा अनुसन्धानका कार्यक्रम संचालन गरेका छन्। आफ्ना प्रयोगशाला र विश्वविद्यालयमा आफ्ना देशका विद्यार्थी, अध्येतालाई अध्ययनवृति दिलाइरहेका छन्। आफ्ना देशका विद्यार्थीलाई विभिन्न अनुसन्धानमा सघाएर जनशक्ति विकासमा योगदान गरेका छन्।


त्यसैले नेपालले पनि बाहिर बसेर अध्ययन अनुसन्धानमा क्रियाशील वैज्ञानिकहरूसँग सहयोग लिनेदिने सम्बन्ध विकास गर्नु लाभदायी हुनेछ। नेपालका विश्व विद्यालयको शैक्षिकस्तर खस्किदै गएको र देशभित्रै अनुसन्धान हुन नसकेको अवस्थामा पनि नेपाली एउटा समूह विदेशमा अर्न्तराष्ट्रियस्तरको प्राज्ञिक कार्यमा संलग्न छ। यस समूहलाई तत्कालै नेपाल फर्काउन नसके पनि तिनकोे ज्ञान, सीप र प्रतिभालाई नेपालको विज्ञानको विकासमा उपयोग गर्नेतर्फ सोच्नु जरुरी छ। सरकारी स्तरका साथै नेपालका विश्वविद्यालय र अनुसन्धानमा लागेका अन्य संस्थाले विदेशमा रहेका नेपाली वैज्ञानिकहरूसँग सहकार्य गर्न सके मुलुकका लागि लाभदायी हुन सक्छ !
read more ››